अपडेट : बाढीपहिरोमा परेर ७७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार ०८:००
File Photo

काठमाडौं । केही दिनको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बाढी, पहिरो र डुबानमा परेर बुधबार बेलुकासम्म ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा धेरै पाँचथर जिल्लाका रहेका छन् ।

बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । पाँचथरमा पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ । त्यहाँ ६ जना घाइते भएका छन् । यस्तै, पाँचथरपछि बढी मृत्यु हुनेमा इलाम जिल्लाका रहेका छन् । इलाममा १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् ।

यसैगरी, पहिरो र बाढीमा परेर धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक/एक जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एक/एक जना घाइते भएका छन् ।