ग्याँस चोरी गर्ने तीन जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ कार्तिक ३,बुधबार १६:५९

मकवानपुर । मकवानपुर प्रहरीले ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाबस्तीबाट ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार, पक्राउ पर्नेहरुमा भरत कार्की, चुनुकुमार र बिपिन कुमार रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।मंगलबार साँझ ७ बजेको समयमा मनहरी–६ स्थित होटल संचालन गरेको बसेका ४३ वर्षीय काकीले बुलेट ग्याँस ट्याँकी चालकहरुसँग समन्वय गरी खाली सिलिण्डरमा ग्याँस भरेर गाउँघरमा बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरीले टोली पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।

प्रहरीले निज भरत कार्कीको होटलबाट विभिन्न कम्पनीको खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी जम्मा ३१ थान बरामद गरेको जनाइएको छ । मकवानपुर प्रहरीका अनुसार, ग्याँस बोक्ने गाडी एनएल ०१ एनओ १३१ चालक चुनु कुमार, युपी ७० बीटी ९९९६ का चालक बिपिन कुमार र होटल संचालक कार्कीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।