बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो
काठमाडौं । देशका विभिन्न क्षेत्रमा परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ भने ३१ जना बेपत्ता भएका छन् । बाढीपहिरो र डुबानमा परेर देशका इलाम, डोटी, हुम्ला, धनकुटा, पाँचथर, प्युठानलगायत विभिन्न जिल्लामा गरी ४८ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, बाढीपहिरो र डुबानमा परेर सबैभन्दा धेरै ज्यान गुमाउनेमा इलाम र डोटी जिल्लामा व्यक्ति रहेका छन् । ज्यान गुमाउनेमा इलाममा ११ जना र डोटीमा ९ जना रहेका छन् । इलाममा ११ र डोटीमा जिल्लामा पहिराले मानवीय रुपमा ठूलो क्षति भएको हो ।
त्यस्तै, पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, बैतडीमा ४, कालीकोटमा १, डडेलधुरामा १, प्यूठानमा १, सुनसरीमा २ र उदयपुरमा १ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै, डोटीमा एक, प्यूठानमा २, इलाममा ५ जना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी र उद्दारको क्रम जारी राखेको गृह मन्त्रालयले जनाएको छ ।
