रसुवामा महाविपत्ति, बेत्रावतीबाट २०० बढीलाई बगायो, टिम्मुरे-स्याप्रुबेँसी-मैलुङबाट ५०० भन्दा बढी सम्पर्कविहीन
रसुवामा आएको बाढीका कारण अकल्पनीय ठूलो क्षति भएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बीमापोष्टसँग भने, ‘यो महाविपत्ति नै हो । यस्तो कहिल्यै भएको थिएन ।’ बीमापोष्टले स्थानीय जनप्रतिनिधिहरुसँग टेलिफोनमार्फत सम्पर्क गरी तयार पारेको रिपोर्टमा प्रारम्भिक रुपमा ५०० जना भन्दा बढि मानिसहरु बेपत्ता भएको अनुमान गरिएको छ ।
हालसम्मको अनौपचारिक तथ्याङ्क अनुसार ७० जना भन्दा बढी प्रहरीहरु नै सम्पर्क विहिन छन् । त्यस्तै, बेत्रावतीमा रहेको भुकम्प पीडितहरुको बस्ती समेत बगाएको छ । गाउँपालिकाका अध्यक्ष अर्यालका अनुसार सो बस्तीमा करिब २०० मानिसहरु थिए ५/६ जना मात्रै बाकी रहेको र अन्यको अवस्था अज्ञात भएको बताएका छन् । उता, गोसाईकुण्ड वडा नं छ पनि थुप्रैलाई बगाएको वडा प्रतिनिधि लाक्पा लामाले बीमापोष्टलाई जानकारी दिए ।
रसुवाको टिम्मुरेबाट धेरै मानिसहरु बगाएको छ । टिमुरेबाट मात्रै करिब २०० जना जति बगाएको अनुमान गरिएको छ । त्यस्तै मैलुङबाट समेत बस्ती बगाएको छ । सो क्षेत्रबाट बगेका मानिसहरुको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
प्रारम्भिक रुपमा ५०० भन्दा धेरे मानिसहरु बगाएको विभिन्न स्थानीय स्रोतहरुले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
उता, नेपाली सेना, निजि क्षेत्रका हेलिकोप्टरहरुले तत्कालै उद्धार सुरु गरिसकेको छ । तल्लो तटीय क्षेत्रका जनतालाई सुरक्षित रहन भनिएको छ । अबको केहीबेरमा उक्त बाढी धादिङको मुग्लिङ बजार पार गर्ने बताइएको छ ।
रसुवामा आएको बाढीका कारण गल्छी धुन्चे सडक पूर्ण रुपमा अबरुद्ध हुन पुगेको छ । विद्युत प्रशारण लाइनमा समस्या आएकोले सञ्चार सम्पर्क समेत विच्छेद हुने अवस्थामा पुगेको छ । हाल टेलिकमको टावरमा भएका ब्याट्रीको भरमा चलेका सञ्चार सम्पर्क ब्याट्रीको पावर सकिएपछि बन्द हुनसक्ने जोखिम रहेको छ ।
यता, प्रधानमन्त्री कार्यालयमा विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी सहितको सो बैठक बसिरहेको र उद्धारको रणनीति बनाइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
