बंगलादेशमा हिन्दुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०७८ आश्विन ३०, शनिबार १८:११

काठमाडौँ । बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पूजाको क्रममा भएको आक्रमणको दोषीलाई कडा कारबाही गर्ने सरकारको निर्णय गरेको छ । मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रहसमेत गरेको छ ।

त्यहाँका संचार माध्ययमहरुले जनाएअनुसार यसै साता दुर्गा पूजाका क्रममा मुस्लिमहरूले हिन्दु मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चारजनाको मृत्यु भएको थियो । हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् । धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ ।

जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछु, ढाकस्थित दक्षेश्वरी हिन्दु मन्दिरमा हिन्दूहरूलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन् । यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ । सो आक्रमणको विरोधमा शनिबार बंगलादेशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।