पशुपतिनाथमा महाशिवरात्रिको रौनक, आठ लाख दर्शनार्थीको अनुमान
काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि श्रद्धा, भक्ति र उल्लासका साथ देशभर मनाइँदैछ। पर्वको मुख्य केन्द्रका रूपमा रहेको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थी, साधुसन्त तथा बाबाहरूको उल्लेख्य चहलपहल देखिएको छ। मन्दिर क्षेत्रमा बाबाहरूले धुनी बालेर बस्न थालेका छन् भने भक्तजनको भीडले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यादेखि नै देश–विदेशबाट आएका साधुसन्त र भक्तजनको आगमनसँगै पशुपति क्षेत्र निकै व्यस्त देखिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ। कोषले साधुसन्तहरूको बसोबास, भोजन तथा आवश्यक व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ।
महाशिवरात्रिको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन, खानेपानी, चिया लगायत सेवाहरू सञ्चालन गरिएका छन्। पर्वलाई व्यवस्थित बनाउन कोषका पदाधिकारी तथा कर्मचारीहरू स्थलगत रूपमा खटिएका छन्। दर्शनार्थीको सहजताका लागि आज बिहान ४ बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको कोषले जानकारी दिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहेपछि चतुर्दशी तिथि प्रारम्भ भएको छ, जुन सोमबार दिउँसो १७ः३५ बजेसम्म रहनेछ। मध्यरातमा चतुर्दशी तिथि आजकै दिन परेकाले यसै दिन महाशिवरात्रि मनाउने निर्णय गरिएको हो।
पर्वलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा, स्वास्थ्य, सरसफाइ तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा र मोबाइल गस्तीसमेत बढाइएको छ। महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष ट्राफिक व्यवस्थापन लागू गरिएको छ।
शास्त्रीय मान्यताअनुसार फागुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिव प्रकट भएको स्मरणमा महाशिवरात्रि मनाइन्छ। यस दिन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिङ्गमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गर्ने परम्परा छ। शिव पुराण, लिङ्ग पुराण र पद्य पुराणमा यस व्रत र पूजाबाट सुख, समृद्धि, आरोग्य तथा मोक्ष प्राप्त हुने विश्वास गरिएको उल्लेख छ।
आज वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्। महाशिवरात्रिले धर्म, आस्था र संस्कृतिको संरक्षण गर्दै सामाजिक एकता र आध्यात्मिक चेतनालाई थप सुदृढ बनाएको विश्वास गरिन्छ।
