महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा तीव्र तयारी

तु खबर संवाददाता
२०८२ फाल्गुन २, शनिबार १७:३४

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा तयारी तीव्र पारिएको छ। आइतबार मनाइने महाशिवरात्रिका अवसरमा भक्तजनलाई सहज रूपमा दर्शन गराउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको जनाइएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पर्वका दिन कुनै पनि अभाव हुन नदिने गरी सरसफाइ, सुरक्षा, दर्शन व्यवस्थापनलगायत तयारी पूरा गरिएको छ। महाशिवरात्रिको पूर्वसन्ध्यामा आज पाशुपत क्षेत्रमा भव्य शोभायात्रा आयोजना गरिएको छ, जसमा स्वदेशी तथा विदेशी साधुसन्त र स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। शोभायात्रा पाशुपत क्षेत्रका प्रायः सबै भागमा निकालिएको थियो भने धामीझाँक्रीको पनि सहभागिता देखिएको थियो।

महाशिवरात्रिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू पशुपति क्षेत्रमा आइपुगेका छन्। परम्पराअनुसार पर्व सम्पन्न भएपछि ती साधुसन्तलाई दान-दक्षिणासहित बिदाइ गरिने चलन रहेको छ। महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। यसै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत आयोजना हुने गर्दछ।

कोषले महाशिवरात्रिका दिन भक्तजनले सहज र व्यवस्थित रूपमा दर्शन गर्न सक्ने वातावरण बनाइएको भन्दै पर्वलाई सभ्य र सुरक्षित रूपमा सम्पन्न गराउन सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।