‘प्रदेश सरकार र संघीयता खारेज गरौँ’

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार ०९:३६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले प्रदेश सरकार र संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै तत्कालै प्रदेश सरकार र संघीयता खारेज गरिनुपर्ने माग गरेकी हुन् ।

सांसद माझीले प्रदेश सरकारले जनतामा कुनै पनि किसिमको राहत दिन नसकेको, प्रदेश र सांसदहरु पद र प्रतिष्ठानको लागि मात्रै उभिने गरेको बताउँदै यो बोझलाई खारेज गर्नुपर्ने बताइन् । संघीयता खारेजी गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महँगी र भ्रष्टाचारलाई न्यूनीकरणको लागि यो व्यवस्था खारेज गर्नुपर्ने उनको भनाई थियो ।

जनताले तिरेको करबाट प्रदेशसभाका सांसदलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो व्यवस्था खारेज हुनुपर्ने बताइन् । लोभलालच देखाई गाउँ–गाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ सचेत हुन सबैलाई आग्रह गरिन् । बागमती प्रदेशसभाको आइतबार बसेको नवौं अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका सांसदहरुले बडादशैं, शुभ दिपावली तथा छठ पर्व र प्रदेशसभाको नवौं अधिवेशनको शुभकामना दिएको थियो ।

यस्तै, सोही अधिवेशनको हिजो नै बसेको दोस्रो बठकमा बागमती प्रदेशसभाकी मुख्यमनत्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव पेश गरेकी थिइन् । मुख्यमन्त्री शाकयले नेपालको संविधानको १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिन प्रस्ताव पेश गरेकी हुन् । प्रदेशसभाको बैठक आगामी कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।