आज बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार ०८:४३

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज (आइतबार) बस्दैछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम बागमती प्रदेश मुख्यमन्त्री परिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक बस्न लागेको हो । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी भएको छ ।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेको स्पष्ट बहुमतबाट गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् ।