आज मन्त्रिपरिषद् विस्तार हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार ०८:४७
file-photo

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नयाँ सरकार बनेको झण्डै ३ महिनापछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गत असार महिलामा सरकारको नेतृत्व गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले २५ सदसयीय मन्त्रिमण्डलमा यसअघि पाँच जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका थिए ।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषद विस्तार गर्न लागिएका प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार, बिहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो ।

सत्ता गठबन्धनको बिहीबारको बैठकमा कुल २५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसलाई ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रलाई ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय दिन सहमति भएको छ । यसअघि कांग्रेसले ७ मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएपनि कांग्रेसलाई थप १ वटा मन्त्रालयल दिन अन्य दलहरु राजी भएको देखिन्छ ।