पर्साबाट पक्राउ परे हेटौंडाका गुरुङ

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार १७:०७

वीरगञ्ज । मकवानपुरको हेटौंडा बस्ने राकेश गुरुङ पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने गुरुङ पर्साको वीरगंजबाट पक्राउ परेका हुन् । उनलाई पर्सा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले गुरुङसँगै काठमाडौंको तारकेश्वर नगरपालिका–८ मनमैँजुका रवीन्द्र खत्रीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध डाइजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी ३०० एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनीहरुलाई प्रहरी चौकी इनर्वाको टोलीले जाँच गर्ने क्रममा वीरगंज १६ शंकराचार्य गेटबाट पक्राउ गरेको हो ।

बढी भाडा लिन खोजेको आरोपमा पक्राउ
काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । तोकिएको टिकट काउण्टरमा परिचयपत्र बाहकहरुले मात्र टिकट काट्न् व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरुले विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिँदै गरेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई टिकट काटिदिन्छु भनी मोलामोलाइ गर्ने भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सविन राई पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गरिरहेको अवस्थामा काठमाडौं बस्ने राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ ।

पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको जनाइएको छ । यसैगरी कलंकीबाट नवीन केसी र बल्खुबाट अरुण मगर र जाजरकोटका विनोद रानालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।