पछिल्लो २४ घण्टामा १०३० संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ आश्विन १८,सोमबार १७:५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पीसीआर परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ । तीमध्ये ११ हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । देशभर पछिल्लो २४ घण्टामा एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार १५२ संक्रमित छन् भने ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।