स्रोत नखुलेको १५ लाखसहित पक्राउ
पर्सा । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको अवैध पैसासहित प्रहरीले तीन जनालाई पक्राउ गरेहेको छ । प्रहरीले स्रोत नखुलेको रु १५ लाख ५० हजारसहित दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको तीन वटा मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरुलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ ।
