साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

तु खबर संवाददाता
२०७८ आश्विन १६, शनिबार ११:४२

काठमाडौँ । मनिस डाँगीले गरेको एक गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । माल्दिभ्समा शुक्रबारदेखि सुरु साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । ६९ औं मिनेटमा मैदान प्रवेश गरेका डाँगीले ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले केही उत्कृष्ट बचाउ गर्दा माल्दिभ्स गोल गर्नबाट बन्चित बनेको थियो । साविक विजेता तथा घरेलु टोलीविरुद्ध जितपछि नेपालले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध आठ खेल खेल्दा पहिलो जित हात पारेको हो । यसअघिका सात खेलमा नेपालले दुई खेल बराबरी गर्न सफल हुँदा पाँच खेलमा हार बेहोरेको थियो ।

सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्सँग ३–० ले पराजित भएको थियो । नेपालले त्यस हारको बदलासमेत लिएको छ । पाँच टिम सहभागी साफमा नेपालले अब दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।