सीपमुलक तालिमपश्चात महिलाहरुमा व्यक्तित्व र नेतृत्व विकास
मकवानपुर । नारी सीप सृजना केन्द्र मकवानपुरले जिल्लाको दुई वटा गाउँपालिकामा गरिएको मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजनाको कार्य सफल र महिलाहरुमा सीपमुलक तालिम पश्चातका कार्यहरुमा सकरात्मक परिवर्तन आएको जनाएको छ ।
केन्द्रले बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाको बागमती र राक्सिराङ गाउँपालिकाको वडा नम्वर १ देखि ५ सम्म गरिएको परियोजना अनुरुप महिला र समूहमा आवद्ध सबैमा व्यक्तित्व र नेतृत्व विकास भएको जानकारी दिएको हो । सन् २०२० बाट उक्त परियोजना जुन मानव बेचविखनमा रोकथाम र सुरक्षित स्थानागमन प्रर्वद्धनका लागि काम गरिएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक चिरन्जीवि पौडेलले वैदेशिक रोजगारको नाममा बेचिनु भन्दा स्वदेशमै स्वरोजगारको सम्भावना रहेकाले स्थानीय तहमा नै समूह निर्माण गरी महिलाहरुलाई विभिन्न कृषि तथा पशुपालनका तालिम, उद्यमशिलता लगायतको सीपमूलक तालिम दिएको जानकारी दिए ।

परियोजनाको काम भएपश्चात मकवानपुरका दुई सञ्चारकर्मीलाई अनुगमन गर्न लगाएपछि आएको अनुगमनको प्रतिवेदन आज (बुधबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । सो क्रममा केन्द्रका कार्यक्रम संयोजक ज्योती भोम्जनले बागमतीमा स्वदेशमा नै आर्थिक उपार्जनका निम्ति परियोजनाले ३१ जनालाई बाख्रा र २० वटा लोकल कुखुरा दिइएको र ५३ जनालाई तरकारी खेती तालिम दिई टनेलको लागि आवश्यक सामाग्री प्रदान गरिएको बताईन् ।
त्यस्तै, राक्सिराङमा पनि ३१ जनालाई बाख्रा, ११३ जनालाई तरकारीका वीऊ र ५३ जनालाई टनेलका सामाग्री सहित खेती तालिम प्रदान गरिएको निर्देशक पौडेलले बताए । पत्रकार सम्मेलन केन्द्रका अध्यक्ष सरस्वती बर्तौलाको उपस्थितीमा भएको हो ।
