खोलाले बगाएर ९ बर्षीया बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १४:३१
सांकेतिक तस्वीर

काठमाडौँ । इलामको फाकफोकथुम र देउमाईबीचको मैदाने नामको खोलाले बगाएर एक जना बालिकाको ज्यान गएको छ । देउमाई –१ चमैता मावली घरमा बसेर पढ्दै आएकी ९ बर्षीया सागरिका राईको मृत्यु भएको प्रहरीले जनाएको छ । फाकफोकथुम गाउँपालिका–६ स्थित फलाँटे माविमा कक्षा–४ मा अध्ययनरत बालिका सोमबार विद्यालयबाट फर्किँदै गर्दा खोलाले बगाएको हो ।

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।