बागमती साक्षर प्रदेश घोषणा

तु खबर संवाददाता
२०७८ आश्विन ११, सोमबार १७:२२

मकवानपुर । आजबाट बागमती साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडी बढाउने बताउने बताइन् ।

यस प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्ने बताउँदै उनले भनिन् ‘अहिले पूर्ण साक्षर नभएपनि अब भने सत प्रशित साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्छ ।’ पहिले महिलाहरु वेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने बाध्यता रहेको भएपनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने उनले बताइन् ।

जिल्लास्तरबाट सबै अभियान्ताहरु साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यले निर्देशन दिइन् । घोषणाको काम सकिएपनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उनले बताइन् । शान्तिपूर्ण र विभेदरहित नेपाल निर्माण गर्नका लागि काम गर्नुपर्ने उनले बताइन् ।

प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिवहरु, मन्त्रालय र निर्देशनालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

प्रदेशका १५ देखि ६० बर्षबीचका ९५ प्रतिशत भन्दा बढी नागरिकहरु साक्षर भइसकेकोले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको र १५ बर्ष मुनि र ६० बर्षमाथिकालाई पनि साक्षर बनाउने कार्यलाई तीब्रताका साथ पहल गरिने प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।