बागमती प्रदेशलाई आज साक्षर प्रदेश घोषणा गरिँदै

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार ०८:१४

मकवानपुर । बागमती प्रदेशलाई आज (सोमबार) साक्षर प्रदेश घोषणा गरिदैछ । प्रदेशमा ९७ दशमलब २२ प्रतिशत व्यक्तिहरु साक्षर रहेकाले साक्षर प्रदेश घोषणा गर्न लागेको शिक्षा विकास निर्देशनालय बागमतीका, निर्देशक चन्द्रप्रसाद लुईटेलले जानकारी दिए । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा मुख्यमन्त्री, प्रदेश सांसद, इकाई प्रमुख, समन्वय समितिका अध्यक्षहरु लगायतको उपस्थितिमा साक्षर प्रदेश घोषणा हुने लुईटेलले बताए ।

प्रदेशका जिल्लाहरुमा ९५ प्रतिशतभन्दा बढी व्यक्ति साक्षर भएपछि प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने निर्णय गरिएको थियो । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरे ललितपुरमा र कम दोलखामा साक्षर व्यक्ति भएको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ललितपुरमा १०० प्रतिशत साक्षर व्यक्ति रहेका छन् भने दोलखामा ९५ प्रतिशत साक्षर व्यक्ति रहेका छन् । २०११ सालदेखि सरकारले प्रौढ शिक्षा सुरु गरेको थियो भने २०६९ सालदेखि साक्षर अभियानका रुपमा लिइएको थियो । सामान्य लेख्न र पढ्न जानेमा साक्षर मानिन्छ ।

प्रदेशमा अझै ४५ हजार ३ सय ४५ जना निरक्षर व्यक्तिहरु रहेको शिक्षा विकास निर्देशनालय बागमतीका, निर्देशक लुईटेलले जानकारी दिए । अझै हजारौं व्यक्ति साक्षर नहुनुमा पढ्न र बोल्न सिक्ने तालिम तथा कार्यक्रमहरुमा ती व्यक्तिहरु सहभागी हुन नसकेको उनको भनाई छ । बसाईसराईले पनि प्रभाव पारेको र केही वर्षअघि संकलन गरिएको तथ्यांक र अहिलेको तथ्यांकले पनि फरक पार्ने हुँदा ती साक्षर नभएकाहरु साक्षर भएको हुनसक्ने निर्देशक लुईटेलले बताए । प्रदेशको ललितपुरलाई २०७१ साल असार २ गते सबैभन्दा पहिले साक्षर जिल्ला घोषणा गरिएको थियो । यसैगरी, मकवानपुरलाई २०७३ सालमा र काठमाडौंलाई २०७८ साल असोज ४ गते साक्षर जिल्ला घोषणा गरिएको थियो ।