अपहरण गरेको आरोपमा हेटौंडामा चार जना पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १८:५५

मकपानपुर । हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ घर भई हेटौंडा– १० बासुदेवमार्गस्थित जे.एस. सुनचाँदी पसल संचालक ४० वर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१० बस्ने ३९ वर्षीय बिनोद लाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौंडा–५ बस्ने ३२ वर्षीय बुद्ध लामा र हेटौंडा–२ बस्ने २७ वर्षीय आदेश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित मकवानपुर रिकभरिङ्ग समुहको हाताभित्रबाट आज (आइतबार) बिहान ११ बजेर ४० मिनेटको समयमा पक्राउ गरेको हो ।

बिहान ९ बजेको समयमा बिश्कर्मालाई बा २० च ८९६० नम्बरको सेतो कारमा आएका ४/५ जना अपरिचित व्यक्तिहरुको समूहले अपहरण गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हेटौंडा– ५ स्थित मकवानपुर रिकभरिङ्ग समुहको कार्यालय अगाडी उक्त कार फेला पारी अपहरण गर्ने कार्यमा संलग्न उनीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

अपहरित बिश्वकर्मालाई सकुशल उद्दार गरी पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।