बागमती प्रदेश प्रमुख शर्माको उपचार जारी

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १६:४६

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा हाल उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा उपचाररत छन् । मुटु रोगको समस्या भएका प्रदेश प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको उनका स्वकीय उपसचिव पारशमणि फुयालले जानकारी दिए ।

विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गतेबाट गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको थियो । उपचारका क्रममा प्रदेश प्रमुखको स्वास्थ्य अवस्था थप जटिल बन्न पुगेपछि उनलाई थप उपचारका लागि हिजो उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको उनका स्वकीय उपसचिव फुयालले बताए ।

उनका अनुसार, शर्माको उपचारमा संलग्न डाक्टरको सल्लाहमा उनको आज (आइतबार) बिहानबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । हिजो दिनभरी मुटुको चाल नै बन्द भई स्वास्थ्य अवस्था जटिल बनेको प्रमुख शर्माको आज भने स्वास्थ्यमा सुधार भएको स्वकीय उपसचिव फुयालले बताए । फुयालका अनुसार, प्रमुख शर्माको अहिले डा.सूर्य देवकोटाको टिमले उपचार गराइ रहेको छ ।