कांग्रेस मकवानपुरको पालिका अधिवेशन आज हुँदै, यस्तो छ तयारी

तु खबर संवाददाता
२०७८ आश्विन ९, शनिबार ०८:१९
file-photo

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकाहरुमा अधिवेशन तथा निर्वाचन हुँदैछ । सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति नहुने नगर/पालिकामा प्रजातान्त्रिक प्रक्रिया अवलम्वन गरिने प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

अधिवेशनको लागि समय र स्थान तय गरिनुको साथै आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन प्रहरी खटाइएको समेत प्रवक्ता कोइरालाले जानकारी दिए । उनले निर्वाचन सभ्य र भव्य र निश्पक्षरुपमा सम्पन्न गर्न निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकिएको उनले बताए ।

१० वटै स्थानीय तहको मतदाताको अन्तिम नामावली विहान ७ बजेसम्म प्रकाशन भइसक्ने, लगत्तै उम्मेदवारको दस्तखत दिने समय तोकिएको छ । मतदान अधिकृतले त्यहाँको अवस्था हेरेर उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारको नामावलीउपर दावी विरोधका लागि समय निर्धारण गर्ने, दावी विरोध उपर निर्णय गरिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, फिर्ता लिन चाहानेले फिर्ता लिने र मतदान प्रक्रिया संचालन गर्नेछन् । मतदान प्रक्रिया सकिएलगत्तै मतगणना र घोषणा हुने उनले बताए ।

कांग्रेसले मतदान अधिकृत र स्थानसमेत तय गरेको छ । क्रमश बागमती गाउँपालिकाको अधिवेशन बागमती ४ पाल्पालीमा हुँदैछ । मतदान अधिकृत राजेश प्रसाद घिमिरे रहेका छन् । त्यस्तै बकैयाको हात्तिसुँडे गुम्बा भवनमा अधिवेशन हुनेछ भने मतदान अधिकृत राजबाबु पहाडी रहेका छन् । मकवानपुरगढीको शिखरकटेरी बजारमा अधिवेशन हुनेछ भने मतदान अधिकृत टिका प्रसाद दाहाल रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको क्लब हेटौंडामा अधिवेशन हुँदैछ भने रामकुमार अधिकारी मतदान अधिकृत रहेका छन् । मनहरीको अग्नि होत्राश्रममा अधिवेशन हुँदैछ भने रामसागर गुरागाईँ मतदान अधिकृत रहेका छन् । राक्सिराङको चैनपुरमा अधिवेशन हुँदैछ भने मतदान अधिकृत केशव प्रसाद देवकोटा छन् । कैलाशको नामटारमा अधिवेशन तय भएको छ भने मतदान अधिकृत देवनायक शर्मा तोकिएका छन् ।

थाहा नगरपालिकाको वडा नं ३ मा रहेको जेसीज भवनमा अधिवेशन हुँदैछ भने मतदान अधिकृत गणेश प्रसाद हुँमागाईँ तोकिएका छन् । त्यस्तै इन्दसरोवरको वडा नं २ स्थित कंलकी भन्ने ठाउँमा अधिवेशन हुँदैछ भने मतदान अधिकृत मदन लामिछाने तोकिएका छन् र भीमफेदी बजारमा हुने निर्वाचनमा सुमन कुमार मानन्धर मतदान अधिकृत रहेका छन् ।

कांग्रेसले गएको भदौ २० गते जिल्लाको १०२ वटै वडाको अधिवेशन सम्पन्न गरी वडासभापतिसहित कूल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चय चयन गरेको छ । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४२० जना र थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् ।

त्यस्तै ८ वटा गाउँपालिकाको ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको प्रवक्ता कोइरालाले जानकारी दिए । गाउँपालिकाबाट निर्वाचित हुनेहरुमा क्रमश मकवानपुरगढी १३७, राक्सिराङ, १५४, कैलाश, १७९, इन्द्रसरोवर ७८, भीमफेदी १५७, बकैया १९४, बागमती १५४ र मनहरी १६३ जना रहेका छन् ।