बागमती प्रदेश : सबै सवारीको कर र राजस्व अब ईसेवामार्फत् भुक्तनी

तु खबर संवाददाता
२०७८ आश्विन ७,बिहीबार ०८:२९

मकवानपुर । बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क अब ईसेवामार्फत् भुक्तानी गर्न सकिने भएको छ । प्रदेश सरकार र ईसेवाको सहकार्यमा सवारीसाधनको कर, दर्ता र नवीकरण अनलाइनबाट गर्न सकिने सेवा सुरु भएको हो ।

यससँगै अब सवारीसाधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्सको भुक्तानी गर्न यातायात कार्यालयमा लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दुईपांग्रे, चारपांग्रे, ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै किसिमका सवारीसाधनको कर, दर्ता र नवीकरण ईसेवाबाट गर्न सकिनेछ ।  इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाट कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने ईसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको ईसेवा जोन तथा पाइन्टबाट सेवा लिन सकिन्छ । मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले बताए ।

उनका अनुसार, अप्रत्यक्ष रुपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत् सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) छन्। हाल ईसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् । ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेजलगायत शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ईसेवामा सहज र कम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।