हेटौंडामा फोक्सो रोगी थिङको उपचारमा सहयोग पुर्याउन च्यारिटी शो हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन ६,बुधबार १६:५५
फोटो : फोक्सो रोगी रुपेश थिङ

मकवानपुर । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्वर ७ बस्ने फोक्सो रोगी रुपेश थिङको उपचारको लागि आर्थिक रकम जुटाउन कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्र ‘लाइफ पार्टनर’ को च्यारिटी शो हेटौंडामा प्रदर्शन हुने भएको छ । चलचित्र हेटौंडाको नारायणी मलस्थित असोज ९ गते दिउँसो १ बजे प्रदर्शन हुँदैछ ।

बिगत ४ महिनादेखि दायाँपट्टिको फोक्सोमा रगत जमेर फोक्सो सुकेको र नाकबाट रगत बगिरहने स्वास्थ्य समस्याबाट पीडित ३० वर्षीय थिङ हाल गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्ज सेन्टरमा उपचाररत छन् । उनको उपचारका लागि आर्थिक रकमको समस्य भएको भन्ने खबर पाएपछि उक्त चलचित्र प्रदर्शन गरेपश्चात प्राप्त रकम उपचारका लागि प्रदान गरिने चलचित्रका निर्देशक विनायक तामाङले जानकारी दिए । उनका अनुसार, कालिदेवी मिडिया हाउसको मुख्य पहलमा थिङको उपचार सहयोगार्थ उक्त चलचित्र हेटौंडामा प्रदर्शन गर्न लागिएको हो । च्यारिटी शोका लागि खानीखोला तथा दोर्जे मिडिया हाउसको समेत साझा पहल रहेको छ ।

‘लाइफ पार्टनर’ चलचित्र तामाङ संस्कृतिमा आधारित नेपाली भाषाको राजनीतिक विषयवस्तु एवम् प्रेम कथामा आधारित रहेको छ ।चलचित्रका निर्माता सन्चकुमारी तामाङ, द्वन्द्व निर्देशक राजु किराँत, संगीत प्रतिक मोक्तान, कार्यकारी निर्माता बुद्धछिरिङ तामाङ रहेका छन् । चलचित्र सन्देशमूलकका साथै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने खालको रहेको निर्देशक तामाङको दावी छ ।