गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन ६,बुधबार ०८:०१
File Photo

गुल्मी । अविरल बर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीका एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको हो । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेका छन् । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो ।