हेटौँडाको रानी वन : लोकप्रिय हुँदैछ झन्झन्

तु खबर संवाददाता
२०७८ आश्विन ४,सोमबार १९:०१
(रानी सामुदायिक वन उपभोक्ता समूहको आफ्नै भवन)

हेटौंडा उपमहानगरपालिका वडा नं. – ६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह देशकै परिचित वन समूह हो । वनजङ्गल र बन्यजन्तुको संरक्षण, उपभोक्ता परिचालन, आर्थिक पारदर्शीता र वन व्यवस्थापनमा सर्वोत्कृष्ठ यो समूहले गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार (२०५७) पाएपछि यसको चर्चा चुलिएको हो । तर, त्यो चर्चापूर्व वन समूहमा रहेका व्यक्तिहरुले निकै मेहनत गरेका छन् । वन समूहका पदाधिकारीको अथक परिश्रम र समूहमा आवद्ध भएका सदस्यहरुको योगदानका कारण अहिले रानी सामुदायिक वनबारे धेरै मानिसहरु जानकार छन् ।

जिल्ला वन कार्यालय मकवानपुरले २०५० साल पुस २२ गते समुदायमा हस्तान्तरण गर्नुअघि यो समूह क्षेत्रभित्र वनजङ्गल र वन्यजन्तुको संरक्षणको काममात्र भएको थियो । नाङ्गा भएका डाँडाहरु संरक्षणपछि हरियाली बन्न थाल्यो । लोपन्मुख सालकको संरक्षणमा पनि यो समूह अब्बल घोषित भएको छ र यसै कारण थुप्रै प्रतिष्ठिन पुरस्कारहरु पनि पाएको छ । २०४५ साल साउन ६ गतेबाट यो समूह गठन गरी वनजङ्गल र बन्यजन्तुको संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहले काम गर्दै आइरहेका थिए । पछि समुदायमा हस्तान्तरण भएपछि झनै नमूना लायक कामहरु गरेको छ, जसले गर्दा यो समूह सधै चर्चामा आइरहन्छ । समूहले पछिल्लो पटक वन कार्यालयबाट सर्वोत्कृष्ठ वन संरक्षण पुरस्कार प्राप्त गरेको छ । आर्थिक वर्ष ०५२/०५३, ०५३/०५४, ०७४/०७५ र ०७५/०७६ मा पनि जिल्लाको प्रथम पुरस्कार प्राप्त गरेको थियो । ९०६ घरधुरीका करीव ५५ सय मानिसहरु समूहमा आवद्ध छन् । पहिरोको रोकथाम, जैविक विविधताको संरक्षण, वातावरणीय सौन्दर्यताको वृद्धि, सालकको संरक्षण, वन तस्करीको नियन्त्रण, चरिचरणको नियन्त्रण, विद्यालयको लागि आवश्यक सहयोग र विद्यार्थीका लागि छात्रवृत्ति र विपन्न वर्गका लागि आयआर्जनका कामहरु समूहले गर्दै आएको छ । समूहमा आवद्ध सदस्यहरुका लागि बाख्रापालन, बंगुरपालन र तरकारी खेतीमा लगानी पनि गर्दै आएको छ ।

पहिले भाडामा अहिले आफ्नै भवन

रानी सामुदायिक वन समूह पनि भाडाको घरमा थियो । घर भाडामा लिएर वनजङ्गल वन्यजन्तुको संरक्षणको काम भइरहेको थियो । तर २०६३ सालपछि यो संस्थाको अवस्था फेरिएको छ । समूहको आफ्नै जग्गाजमीन र भवन छ । २ तल्ले पक्की भवनमा रहेको यो समूहले क्रमशः संस्थालाई साधनस्रोत सम्पन्न संस्थाको रुपमा छवी निर्माण गरेको छ । भवन निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति मकवानपुरले पनि आर्थिक सहायता उपलब्ध गराएको थियो । समूहले अहिलेसम्म ३ सयभन्दाबढी विद्यार्थी, पत्रकार, सङ्घसंस्था र सामाजका जेष्ठ सदस्यहरुलाई सम्मान गरिसकेको छ । वन वृत्तचित्र ‘हाम्रो वन, हाम्रै संरक्षण’ निर्माण गरेको छ भने अन्य विषयका डकुमेन्ट्रीको निर्माण र वन सम्बन्धी सडक नाटकको प्रर्दशनी समेत गरिसकेको व्यवस्थापक पौडेलले बताए ।

लोपन्मुख सालकको संरक्षण

(सालक हस्तान्तर गर्नुहुँदै हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन चौलागाई )

 

रानी सामुदायिक वन उपभोक्ता समूहले विश्वमै लोपन्मुख अवस्थामा पुगेको सालकको संरक्षणको काम गरिरहेको छ । हाल सो समूहभित्र २४ वटा सालकहरु संरक्षित गरिएको छ । तराई भूपरिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र दि रिफोर्ड फाउन्डेशन लगायतका सरकारी निकाय र सामाजिक सङ्घसंस्थाहरुले सालक संरक्षणमा रानी सामुदायिक वन समूहसँग सहकार्य गरिरहेका छन् । यिनै संस्थाको सहयोगमा राखिएको क्यामेरा ट्यापिङ सिस्टमका आधारमा सालकको संख्या र ती जनावरहरुको अवस्थाबारे समूहले निगरानी गर्दै आइरहेको व्यवस्थापक भीमसेन पौडेलले बताए । २०६२ सालबाट यो समूहले सालकको संरक्षणमा काम सुरु गरेको हो । त्यसअघि फेला परेका सालकहरुलाई हेटौंडामै रहेको सहीद स्मारकलाई हस्तान्तरण गर्दै आइरहेकोमा सो स्मारकमा सालकहरु मर्न थालेपछि समूह आफैले यसको संरक्षणमा तदरुकता देखाएको हो । अन्यन्त शान्त ठाउँ मन पराउने र धमिरा तथा कमिला खाने सालक जोगाउन अहिले यो समूह लागि परेको छ । वन समूह क्षेत्रभित्र धमिराका देवलहरुको निर्माण र संरक्षणमा काम भइरहेको छ, व्यवस्थापक पौडेलले भने । सालक संरक्षणमा विभिन्न सामाजिक सङ्घसंस्था तथा सरकारी निकायसँग मिलेर समूहले काम गरेको छ । समूहले विद्यालयहरुमा जनचेतनामूलक कार्यक्रम गर्ने तथा समुदायलाई संरक्षणका तालिमहरु दिएर सालक संरक्षणमा काम गरिरहेको छ । अहिले देशका विभिन्न समूहहरु अध्ययन अनुसन्धानका लागि यही वन समितिमा आउने गरेका छन् ।

सालकबाहेक यो समूहको वन क्षेत्रमा मयूर, कालिज, सुगा, लुइचे, वनकुखुरा, ढुकुरलगायतका प्रजातिका चराचुरुङ्गी प्रसस्तै पाइन्छ । निगाले चितुवा, बादर, ढेडुँ, स्याल, वन विरालो र मृग पनि यो वन क्षेत्रमा पाइने जनावर हो । कुरिलो, झ्याउ, सर्पगन्धा, पारिजात, राजवृक्ष, चिराइतो, सुगन्धकोकिलाजस्ता जङ्गली जडिबुटीहरुको पनि यो समूहले संरक्षण गर्दै आइरहेको छ । साल, साज, चिलाउने, चाँप, बोटधाइरो, मसला, सिसौ, बकाइनो, भोर्ला, खमारी, चिउरी, अमृसो र चिराइतोलगायतका बनस्थपती पनि यहाँ पाइन्छ । करीव १३४ हेक्टरमा फैलिएको यो वन समूहले आफ्नो वन क्षेत्रलाई ७ वटा ब्लकमा विभाजन गरी संरक्षणको काम गर्दै आइरहेको व्यवस्थापक पौडेलले बताए ।

अब्बल व्यवस्थापन : अब्बल परिणाम

यो वन समूहले वन व्यवस्थापन र संरक्षणमा मात्र होइन, समूहमा आवद्ध सदस्यहरुको सर्वोपरी हीतका लागि पनि अब्बल व्यवस्थापन गर्दै आइरहेको छ । जसका कारण वन समूह देशमै प्रतिष्ठित वन समूहको रुपमा स्थापित भएको हो । हरेक निर्णय गर्दा सो क्रममा उपभोक्तालाई सहभागी गराउने गरिएको छ । सदस्यहरुबीच कार्य विभाजन गरिएको छ भने विभिन्न उपसमितिहरुमार्फत् सदस्यहरुको हीतमा काम गरिएको छ । वार्षिक तथा पञ्च वर्षीय योजनाहरु बनाएर मात्र त्यसलाई कार्यान्वयनमा लैजाने गरिएको छ । यो समूहले सस्थागत सहकार्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ । हालसम्म २७ वटाभन्दा बढी सङ्घसंस्थाले समूहसँग आवश्यक सहकार्य गरी काम गरेका छन् । वन संरक्षणका अतिरिक्त यो समूहले पुलपुलेसा, बाटाघाटा, विद्यालय, विद्युत आपूर्ती र खानेपानीको व्यवस्थापनमा पनि समूहभित्र लगानी गरिरहेको छ ।

तीन दशकदेखि व्यवस्थापक : संरक्षणमा संयोजनकारी

(व्यवस्थापक : भीमसेन पौडेल)

 

यस वन समूहको करीव ३ दशकदेखि भीमसेन पौडेल व्यवस्थापकको रुपमा काम गरिरहेका छन् । २०५१ सालबाट वन समूहको व्यवस्थापन भएका उनै पौडेल वन समूहलाई स्थापित गर्ने काममा संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् । स्व. जगन्नाथ र आमा कृष्णकुमारीका माइलो सन्तानको रुपमा २०२६ साल भदौ ६ गते जन्मिएका पौडेलले प्लस २ सम्मको अध्ययन गरेका छन् । उनले दत्तचित्त भएर रानी वनको संरक्षणमा काम गरिरहेका छन् । संस्थालाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन अत्यन्त महत्वपूर्ण भूमिका निभाएका पौडेलले वन समूहको स्थापनादेखि हालसम्मको सम्पूर्ण डकुमेन्टेशनलाई चुस्तदुरुस्त राखेका छन् । समूहले राष्ट्रिय स्तरमा कमाएको ख्याती, प्राप्त गरेको विभिन्न पुरस्कार, सालक संरक्षणमा भएका महत्वपूर्ण कामहरुमा पौडेल अग्रपक्तिमा छन् । वन समूहको क्षेत्रभित्र रहेका चराचुरुङ्गी, जनावर तथा जडिबुटीको बारेमा पौडेललाई सबै कन्ठस्त छ । सालकको संरक्षण कसरी गर्ने, कस्तो हावापानी र रहन सहनमा सालक खुसी हुन्छ आदि विषयका बारेमा पनि पौडेल जानकार छन् । पौडेल व्यवस्थापक भएका कारण पनि यसको प्रचारप्रसारमा उल्लेखनीय काम भएका छन् ।