एकैदिन ११४ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ आश्विन ४,सोमबार १५:५३

मकवानपुर । आज साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक ठूलो अंकले घटेको छ । आज एकैदिन नेप्से परिसूचक ११४ अंकले घटेर २ हजार ६ सय ९८ अंकमा आएर रोकिएको छ । आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका १३ वटै समूहमा उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

आज जीवन बीमा समूहमा सबैभन्दा बढी अंकले घटेको छ । जीवन बीमा समूहमा ८०० अंकले घटेको हो । यसैगरी, निर्जीवन बीमा समूह ६१४ अंक र विकास बैंक समूह ३३२ अंक, जलविद्युतमा २२० अंक, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकले घटेको जनाइएको छ । समग्र बजार एक सय अंकभन्दा बढीले घटे पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर धनीहरूले सबैभन्दा बढी कमाएका छन् । आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् । यसबाहेक, आज सात वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस्तै, अन्य २५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।