संविधान दिवसको कार्यक्रम : किन आएनन् सभामुख र उपसभामुख ?

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १४:१०

मकवानपुर । बागमती प्रदेश सरकारले छैठौँ संविधान दिवसको अवसर पारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । तामझामका साथ आयोजना गरिएको सो कार्यक्रम विगतमा भन्दा यसबर्ष अलिक फरक देखियो । प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सरकारका मन्त्री तथा राज्यमन्त्रीहरु, सांसदहरु विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरु, सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु कार्यक्रममा सहभागि थिए । तर, प्रतिपक्षको उपस्थिति थिएन ।

कार्यक्रमका प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ पनि उपस्थित भएनन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशीलका रमेश पौड्याल, राप्रपाकी रिना गुरुङलगायत अन्य विपक्षी दलका सांसदहरुको पनि कार्यक्रममा उपस्थिति देखिएन । हरेक बर्ष संविधान दिवसको दिन आयोजना हुने यस कार्यक्रममा सरकारका प्रतिनिधिहरु, सभामुख तथा उपसभामुख, सत्ता पक्ष र प्रतिपक्षसमेतलाई उपस्थित गराइन्थ्यो । तर, यसवर्ष सत्तापक्षको मात्रै उपस्थिति थियो ।

कार्यक्रममा अतिथिहरुलाई निमन्त्रणा गर्ने जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । तर, सभामुखसहित प्रतिपक्षी दलका सांसदहरुको उपस्थिति नहुनुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ । केन्द्रमा एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले संविधान दिवसमा प्रतिपक्षीको उपस्थिति बिना नै कार्यक्रम गरेको भन्दै प्रतिपक्षी दलहरुले असन्तुष्टि व्यक्त गरिँरहँदा उनको सचिवालयले भने सबैलाई एसएमएस गरेर निमन्त्रणा गरेको दावी गरेको छ ।