हेटौंडा–४ हुप्राचौर क्षेत्र सरसफाई

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार १६:०९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौर क्षेत्र सरसफाई गरिएको छ । आज (शनिबार) हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको नेतृत्वमा १५० जनाको टोलीले उक्त क्षेत्र सरसफाई गरेको हो ।

महिनौदेखि विभिन्न खालका झार उम्रिएर फोहोर बनेको सो क्षेत्रमा जनपथ प्रहरी, उपमहानगरपालिकाको नगर प्रहरी, खेलप्रेमी युवाहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतकाको सहभागितामा सरसफाई गरिएको मेयर महतले जानकारी दिए । उनका अनुसार, मेसिनका माध्यमले झार काट्ने, फाड्ने, फोहोर टिप्नेलगायतका काम गरिएको थियो । यस अभियानलाई अब निरन्तरता दिने उनको भनाई छ ।

सो क्रममा उपमहानगरपालिकाका प्रमुख महतले सरसफाईमा जुटेका सामाजिक क्षेत्रका युवा र नेपाल प्रहरीलाई मास्क वितरण गरेका थिए । उनले नेपाल प्रहरीलाई एक सय थान र सरसफाइमा जुटेका खेलप्रेमी युवाहरुलाई ६० थान एन नाइन्टी फाइप मास्क वितरण गरेका हुन् ।यसैगरी उनले हुप्राचौरमा खेली रहेका खेलाडीहरुका लागि फुटबल हस्तान्तरण गरेका थिए ।

मास्क वितरण गर्दै उनले दिनरात नभनीकन नागरिकको सेवामा खटिने प्रहरीलाई कोरोनाबाट सुरक्षित रहनका लागि मास्क वितरण गरिएको बताए । साथै उनले कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री वितरणको कार्यलाई तीब्रता दिएको जानकारी दिए । उनका अनुसार, हुप्राचौर क्षेत्रमा बिहान बेलुका दौडनका लागि उपमहानगरपालिकाको लागतमा ५० लाख रुपैयाँ खर्च गरेर ट्रयाक निर्माण गरिएको छ ।