जँगली बदेललाई थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २,शनिबार ०९:४४
File Photo

काठमाडौँ । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर ३ निवासी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । विद्युतीय पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।

छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको थियो। पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनी मृतक थारुका छिमेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।