ट्रक दुर्घटनामा चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन १,शुक्रबार १०:४७

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक चालकको हाल नामथर खुलेको छैन । सोही दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको ३८ लाख ५१ हजारसहित पक्राउ
पर्सा । प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफ रहेका छन् ।

वीरगंज महनगरपालिका–६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्समा हुण्डी कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ज्वेलर्समा तलासी गर्दा उक्त नगद फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका सथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।