हतारमा विद्यालय संचालन नगर्न सरकारको निर्देशन

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार ०९:२९

काठमाडौं । सरकारले हतारको विद्यालय संचालन नगर्न निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारबालसँग छलफल गर्दै विद्यालय नखोल्न निर्देशन दिएको हो ।

छलफलमा विद्यालय खोल्ने/नखोल्ने भन्ने बारे त्यहाँका स्थानीय तहले निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए । उनले स्थानीय तहमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका काधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय संचालनसम्बन्धी कार्यढाँचा २०७७ पालना गरेर मात्रै विद्यालय खोल्न भनिएका छन् ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमित संख्या घटेपनि जोखिम कायमै रहेका कारण विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उनले बताए ।

मकवानपुरमा भने गत आइतबारदेखि भौतिक उपस्थितिमा विद्यालय र क्याम्पसहरु संचालनमा आएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरुले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपछि विद्यालय सञ्चालन गर्न गरिएको हो ।

मकवानपुरमा कुल ४ सय ९९ विद्यालय रहेको छ । तीमध्ये हेटौंडा उपमहानगरपालिकाभित्र मात्रै ७७ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । हेटौंडाका ७५ प्रतिशत विद्यालयले मात्र कार्यढाँचा पेश गरेर विद्यालय संचालन गरेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिए । जिल्लाका १० वटा स्थानीय तहमध्ये बागमती गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयमा पनि भौतिक उपस्थितिमै पढाई सुरु भइसकेको छ ।