भिरबाट लडेर मकवानपुरका दुई युवकको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ३०,बुधबार १६:५३
File Photo

मकवानपुर । मकवानपुरको भीमफेदीमा पाहा खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका भीमफेदीका दुई युवकको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार भिरबाट लडेर भीमफेदी गाउँपालिका वडा नम्वर ५ माथिल्लो ज्यामिरे बस्ने नविन दोङ र राजन दोङको मृत्यु भएको हो । उनीहरु मंगलबार राति पर्याप्त पाहा पाउने धुन्धेरे खोलातर्फ गएका थिए । पाहा खोज्न गएका उनीहरु आज बिहान अबेरसम्म घर नफर्किएको र खोजीकार्य गर्दा ११० मिटर उचाई रहेको धुन्धुरे खोलामा शव फेला परेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

उनका अनुसार, उक्त घटनाको विषयमा खबर पाउनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीको टोली पुगेर मुचुल्काको काम पुरा गरी शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । दीर्घ रोगहरुबाट मुक्त हुन पाहाको शिकार गरी मासु खाने चलन छ । मकवानपुरको भीमफेदी, कैलाश, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा रातमा मात्रै आहाराका लागि खोँचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जङ्गल जाने गर्दछ ।

हेटौंडाकी नेगी पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अंशदर्ता मुद्दामा फरार हेटौंडाकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने बिनिता माया नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्ला अदालत, हेटौंडाको मिति २०७० साल असार २ गतेको फैसलाले अंशदर्ता मुद्दामा जरीवाना भुक्तान गर्न बाँकी भई फरार रहेकी नेगीलाई प्रहरीले आज (बुधबार) पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत पठाइएको जनाइएको छ ।