गुडिरहेको बसमाथि ढुंगा खस्दा नेपालीको मृत्यु, तीन जना घाइते

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १६:२६

बैतडी । बैतडीमा गुडिरहेको यात्रुबाहक बसमा माथिबाट ढुंगा खस्दा एक जनाको मृत्यु गएको छ । आज (मंगलबार) बिहान जयपृथ्वी राजमार्गमा अन्तरगत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिकै कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार, सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बझाङकै जयपृथ्वी नगरपालिका– ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।

घाइते उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृतक नेपालीको शव हाल घटनास्थलमै रहेको जनाइएको छ । उक्त बसमा सवार अन्य यात्रुहरु भने सुरक्षित नै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।