फरक धारमा हिडेको राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १६:०३
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले फरक धारमा हिडेको राप्रपा अब कहिले नफुट्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक धारमा हिडेको राप्रपा अब नफुट्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न लागेको बताए । अध्यक्ष थापाले ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरू महाधिवेशनका प्रतिनिधिहरू हुने जानकारी गराए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको बताए ।

नेपालका राजनीतिक दलहरु विभिन्न कारणले पटक पटक फुट्न थालेको र राप्रपा नेपालले पनि फुटको सामना गरिसकेको हुनाले अध्यक्ष थापाले अब राप्रपा नफुट्ने बताएका हुन् । नेपालमा राप्रपा नेपालसमेत नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी, विवेकशील साझा पार्टीलगायतका दलहरु फुटेका थिए । नेकपा एमालेबाट फुटेर नेकपा माले बनेको थियो । महाकाली सन्धीका कारण एमालेमा फुट आएको हो । एमाले नेता बामदेव गौतमले माले गठन गरेका थिए । एकीकृत नेकपा माओवादीका नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य किरण, रामबहादुर थापा, नेत्र विक्रम चन्द, गोपाली किराँतीले पनि पार्टी फुटाएका थिए ।