बागमती प्रदेशका मन्त्रीहरुका लागि आचारसंहिता जारी

तु खबर संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १८:०२
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्री तथा नियुक्त गरिएका पदाधिकारीहरुको लागि आचारसंहिता जारी गरिएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिएका छन् ।

बागमतीलाई नमुना प्रदेशको रुपमा विकास गर्दै युवा र महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलताको विकास गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उदेश्यले आचारसंहिलता जारी गरिएको प्रवक्ता पाण्डेले बताए ।

उनले संविधान कार्यान्वयनमा सक्रिय रुपमा पहल गर्न, दीगो शान्ति, जनताको हित लगायतका उद्देश्यका साथ प्रदेश सुशासन ऐन २०७७ को दफा ४६ अनुसार मन्त्री तथा पदाधिकारीहरूका लागि आचारसंहिता बनाइएको उल्लेख गरे ।

भदौ २३ गते मुख्यमन्त्री शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आचारसंहिता जारी गर्ने निर्णय गरेको थियो ।

जारी गरिएको आचारसंहिता अनुसार प्रदेशका मन्त्री तथा पदाधिकारीहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सक्रिय रुपमा मुख्यमन्त्रीसँगको कार्यसम्पादन करार गराई जिम्मेवारपूर्ण ढंगबाट लागू गरी त्रैमासिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

समाजवाद उन्मुख कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने, कानुनमैत्री, सदाचारयुक्त तथा जनमैत्री क्रियाकलाप गर्नुपर्ने, भ्रष्टाचारजन्य गतिविधिमा संलग्नता हुन नहुने, महिला हिंसा, सामाजिक विभेदजन्य क्रियाकलापमा शून्य सहनशीलता अपनाउनु पर्ने, नियुक्ति तथा सिफारिस गर्दा नातावाद तथा कृपावादलाई प्रश्रय दिन नपाउने बुँदा पनि आचारसंहितामा समेटिएको छ ।