हेटौंडामा भदौ २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन हुने

तु खबर संवाददाता
२०७८ भाद्र २०,आईतवार १७:१७

मकवानपुर । लामो समयदेखि बन्द हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुमा यही भदौ २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ ।

उपमहानगरपालिकाले आज (आइतबार) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरी भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको हो ।

प्रधानाध्यापकहरुसँगको छलफलमा आलोपालोमा कक्षा संचालन गर्ने निर्णय गरेको छ । विद्यार्थी संख्याको आधारमा जोर गते जोर कक्षा र बिजोर गते बिजोर कक्षा गरी आलोपालोमा कक्षा संचालन गर्न सकिने भएको हो ।

यस्तै विद्यार्थी संख्या धेरै भएका विद्यालयले जोर गते जोर रोल नम्बरका विद्यार्थी र बिजोर गते बिजोर रोल नम्बर भएका विद्यार्थीलाई उपस्थित गराएर कक्षा संचालन गर्न सकिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।