मकवानपुरमा भौतिक उपस्थितिमा पठनपाठन कहिलेबाट ?
मकवानपुर । मकवानपुरमा भौतिक उपस्थितिमा पठनपाठन हुन अझै एक हप्ता लाग्ने भएको छ । उपमहानगरले सोमबार विद्यालय सञ्चालन कार्यढाँचा पेश गर्न विज्ञप्ति जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईले पनि पालिकाहरुमा विद्यालय, सञ्चालन कार्यढाँचा पेश गर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
उपमहानगरले पनि विज्ञप्ति जारी गर्दै सातदिन भित्र कार्यढाँचा पेश गर्न आग्रह गरिएको र इकाईले पनि पालिकाकाहरुले कार्यढाँचा पेश गर्न केही समय लाग्ने जनाएको छ । जसअनुसार विद्यालयहरुमा शिक्षकहरुको उपस्थितिसहित पठनपाठन कसरी सञ्चालन गरिने विषयमा छलफल भए पनि पठनपाठन, भने नहुने बताए । अहिले पठनपाठन सञ्चालन गर्नसक्ने आधार भए पनि विद्यालयले नीति निर्माण नगरेको उनले बताए ।
भौतिक उपस्थितिमा पठनपाठन के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा कार्यढाँचा पेश गर्न विद्यालयहरुलाई आग्रह गरिएको पौडेलले बताउनुभयो । हेटौंडा उमहानगरभित्र ७७ वटा सामुदायिक र ४६ वटा संस्थागत गरी १ सय २३ वटा विद्यालय रहेका छन् । कोरोना भाइरस संक्रमण जोखिमको कारण विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिसहितको पठनपठान लामो समयदेखि अवरुद्ध रहेको थियो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न गठन गरेको कार्यदलले कोभिड संक्रमण जोखिमका आधारमा मकवानपुरका पालिकालाई ४ क्षेत्रमा बाँडेको थियो । आइतबारदेखि न्यून जोखिममा परेका पालिकाका विद्यालयमात्र, खुल्नसक्ने सम्भावना रहेको पौडेलले बताए । तर, पूर्णरुपमा विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमा पठनपाठन हुन समय लाग्ने उनले बताए ।
बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय तहले निगरानी गर्नेगरी विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । आचारसंहिता निर्माण गरी सरोकारवालासहित विद्यालय व्यवस्थापन समितिको बैठक बसेर कार्यढाँचा पेश गर्न आग्रह गरिएको हो । स्वास्थ्य मन्त्रालयले अझै शैक्षिक क्षेत्रलाई सम्वेदनशील क्षेत्रका रुपमा लिएकाले नीति नियम निर्माणसहित पठनपाठन सुरु गर्न समय लाग्ने पौडेलले बताए । यो समाचार आजको समृद्ध समाज दैनिकमा छ ।
