हेटौंडा उपमहानगरपालिकाको वार्षिक समिक्षा गोष्ठी

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १७:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७७/७८ मा गरेका कामको विवरण समेटेर वार्षिक समिक्षा गोष्ठीको आयोजना गरेको छ । गोष्ठिमा उपमहानगरपालिकाका सबै महाशाखाहरुले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडामा तुलनात्मक रुपमा बिगतमा भन्दा धेरै विकास निर्माणका काम भएको बताए । चार वर्षको अवधिमा हेटौंडामा विकासले फड्को मारेको उनको भनाई छ ।

जुनसुकै क्षेत्रमा काम गर्नका लागि चुनौती भएपनि यसलाई सहज रुपमा सामना गर्न सकिने उनले बताए ।

सेवाग्राहीका कामलाई महत्वका साथ काम गर्नका लागि मेयर महतले निर्देशन दिए ।

कार्यक्रममा उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

समिक्षा गोष्ठीमा सामाजिक विकास महाशाखाका प्रमुख विष्णुकुमारी लामिछाने, पूर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण साह, योजना, बजेट, सूचना तथा तथ्याङ्क महाशाखाका प्रमुख भिम तिमल्सीना, आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाई, सामान्य प्रसासन महाशाखाका प्रमुख रामकृष्ण थापा, महिला तथा बालबालिका विकास महाशाखाका प्रमुख जगनाथ सापकोटा, शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमाल र आर्थिक प्रशासन महाशाखाका प्रमुख जेकप श्रेष्ठले वितेको आर्थिक वर्ष २०७७/०७८ मा गरिएका कामका विषयमा जानकारी गराएका थिए ।