खोलाले कार बगाउँदा ४ जनाको मृत्यु
घोराही । दाङमा घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नम्वरको कारलाई खोलाले बगाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–१३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही–१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसी रहेका छन् ।
विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।
