बागमती प्रदेशमा मन्त्री नभएको मौकामा कर्मचारी सरुवाको तयारी

पत्रपत्रिका
२०७८ भाद्र १४, सोमबार ०८:००

मकवानपुर । बागमती प्रदेशको आथिक मामिला तथा योजना मन्त्रालयले तीन दर्जन कर्मचारी सरुवाको तयारी गरेको छ । मन्त्री नभएको अवस्थामा लेखाका तीन दर्जन कर्मचारी सरुवाको तयारी गरिएको हो ।

बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वको सरकार बनेको छ । सरकारमा दुई जनामात्र मन्त्रीले सपथ लिएका छन् । अन्य मन्त्री भने नियुक्त हुन सकेका छैनन् ।

मन्त्रालय आफैले तयार गरेका कार्यविधि अनुसार असोजमा कर्मचारी सरुवा गर्न पाइने छ । तर, सम्बन्धित मन्त्री नभएको अवस्थामा ३५ कर्मचारी सरुवाका लागि सिफारिस गरेर प्रदशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालय र मातहतका कार्यालयका ३५ कर्मचारीको सरुवा सहमतिका लागि मुख्यमन्त्री कार्यालयमा सिफारिस गरिएको मन्त्रालयका सचिव डण्डुराज घिमिरेले बताए।

कार्यविधिअनुसार सरुवा गर्ने समय अगाबै सरुवा गर्न प्रमुख सचिवको स्वीकृति लिनुपर्ने भएकाले मन्त्री आउनु अगावै सरुवा गर्न लागिएको हो।
दुईदेखि तीन वर्षसम्म एउटै कार्यालयमा लेखाका कर्मचारी भएकाले उनीहरुको समय सकिएकाले सरुवाको सिफारिस गरेर पठाइएको सचिव घिमिरेले बताए ।

सरुवा गर्नुपर्ने कर्मचारी करिब एक हजार जना भए पनि हाल भने थोरै कर्मचारीको मात्र सरुवा गर्न लागिएको उनले बताए। यो समाचार हेटौंडा सन्देश दैनिकमा छ ।