सिमेन्टका विज्ञापन मेट्दै हेटौंडा उपमहानगरपालिका
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रलाई कुरुप बनाउँदै जताततै भित्ते लेखन गर्दै आएको हेटौंडाको शिवम् सिमेन्ट उद्योग, रिद्धीसिद्धी सिमेन्ट उद्योगको भित्ते लेखन मेटाउने अभियान सुरु गरिएको छ ।
उद्योगहरुले आफ्नो विज्ञापन गर्ने नाममा जताततै सडकपेटीका विद्युत् पोल, व्यक्तिका घरका भित्तो, सार्वजनिक स्थान जताततै विज्ञापन लेखाउन थालेपछि यसलाई उपमहानगरपालिकाका नगर प्रहरीमार्फत् मेटाउने काम गरिएको मेयर हरिबहादुर महतले बताए ।
हेटौंडा बजारको सुन्दरतालाई उद्योगहरुले आफ्नो विज्ञापन गर्ने नाममा कुरुप पार्न थालेपछि यसलाई मेटाउन थालिएको उनले बताए ।
बजारलाई सुन्दर बनाउन उपमहानगरपालिकाले फूलका बिरुवा रोप्ने, सडकपेटीमा विभिन्न जातका रुख रोप्ने, गमला राख्ने लगायत काम गर्ने तर, कुनै कम्पनीले आफ्नो विज्ञापन गर्ने नाममा जथाभावीरुपमा पेन्टिङ गर्न थालेपछि यसलाई मेटाउन थालिएको उनको भनाई छ ।
हाल पहिलेजस्तो पेन्टिङ गर्ने भन्दा पनि कसैको घर भाडामा लिएर छतमा डिजिटल बोर्ड राख्न उनले आग्रह गरे । एकातिर मेट्दै जाने र अर्कोतिर उद्योगले फेरि लेख्न थालेपछि विज्ञापनका सामानहरु जपथ गरिएको नगर प्रहरी इञ्चार्ज नेत्रप्रसाद ढकालले बताए । यो समाचार हेटौंडा सन्देश दैनिकमा छ ।
