आज देशभर गाईजात्रा पर्व मनाइँदै

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार ०८:४०

मकवानपुर । आज देशभर गाईजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गरिन्छ । गाईजात्रा पर्वको मुख्य दिन आज भए पनि भाद्र कृष्ण अष्टमीसम्म यो पर्व मनाउने प्रचलन रहेको छ ।

सोहौं शताब्दीको मध्यतिर कान्तिपुरका राजा प्रताप मल्लका छोरा मरेपछि पुत्रशोकले भाव विह्वल भएकी रानीलाई सान्त्वना दिन गाईजात्राको प्रचलन सुरु गरिएको मानिन्छ । राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन सुरु गरेको इतिहास रहेको छ ।

विशेषगरी नेवार समुदायको बसोबास धेरै रहेका शहरमा गाईजात्रा पर्व विशेषरुपमा मनाइन्छ । नेवार समुदायका मानिसहरुले आफ्ना मृतजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गर्दछन् । गाईजात्राका अवसरमा सामाजिक तथा राजनीतिक विकृतिप्रति प्रहसनलगायत व्यङ्ग्यात्मक प्रस्तुति गर्ने गरिन्छ ।

यसवर्ष कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम कायमै रहेका कारण स्वास्थ्य मापदण्डको पालना गरी गाईजात्रा मनाउन सरकार तथा स्थानीय प्रशासनले आग्रह गरेको छ ।