सदस्यता विवाद कायमै, कांग्रेस निर्वाचन समिति महाधिवेशनको तयारीमा
काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन समिति महाधिवेशनको तयारीमा जुटेको छ ।
कांग्रेस क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनको तयारीमा जुटेको हो ।
मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको अझै सदस्यता टुंगो भने लागेको छैन ।
सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया शुरु हुने बताइएको छ ।
तर पछिल्लो पटक संशोधित तालिकाअनुसार वडा अधिवेशन भदौ १८ मा गर्नुपर्ने कार्यतालिका छ । स्थानीय अधिवेशन गर्न १२ दिन मात्र बाँकी हुँदा पनि क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिले पाएको छैन ।
क्रियाशील सदस्यता कुर्दा अधिवेशन कार्यतालिका नै प्रभावित हुने भएपछि अन्य तयारी अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र छपाईको काम शुरु गरिसकेको छ ।
करिव आठ हजारप्रति निर्देशिका, नियमावली र विधान छपाईको काम भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख भन्दा बढी प्रमाणपत्र छपाईको काम पनि भइरहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अब भदौ १४ सम्म प्रत्येक जिल्लामा निर्वाचन अधिकृत खटाइसक्ने तयारी छ ।
कांग्रेसमा अहिले सरकार विस्तारको विषयमा पनि बहस सुरु भएको छ । सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन् । उनले हालसम्म आफुसमेत ४ जनाबाहेक मन्त्रिपरिषद्मा कसैलाई समावेश गरेका छैनन् । सरकार बनेको यतिका समयसम्म उनले सरकार विस्तार गर्न नसकेको भन्दै कांग्रेसभित्रै आलोचना सुरु भएको छ ।
