बागमती प्रदेशसभा बैठकः सत्तारुढ दलका सांसदहरुले भने – पार्टी फुटाउने विधेयक फिर्ता लिइनुपर्छ

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १९:०२

मकवानपुर । बागमती प्रदेशका सत्तारुढ दलका सांसदहरुले संघीय संसद्मा पार्टी फुटाउने विधेयक पारित गर्न नहुने बताएका छन् ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा शुन्य समयमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्यहरु रत्नप्रसाद ढकाल, शेरजंग थापा, जुनेलीमाया श्रेष्ठलगायतले संघीय सरकारले पार्टी फुटाउने विधेयक पारित गर्न नहुने भन्दै प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षबिच लामो समयदेखि विवाद चलिरहेको अवस्थामा बागमती प्रदेशसभा सदस्यहरुले पार्टी फुटाउने विधेयक पारित गर्न नुहुनेमा जोड दिएका हुन् ।

उनीहरुले बहुदलीय प्रजातन्त्रमा दललाई प्रधानता दिएर सशक्त तुल्याउनुपर्ने अवस्थामा सत्तारुढ दलले आफ्नो स्वार्थको लागि पार्टी फुटाउने विधेयक ल्याइएकोमा सो विधेयक तुरुन्तै फिर्ता लिइनुपर्ने माग गरेका हुन् ।

त्यस्तै बैठकमा सांसदहरुले अफगानिस्तानमा विचल्लीमा परेका नेपालीहरुको यथाशिध्र र सकुसल उद्दार गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रदेश सरकारले अफगानिस्तानमा रहेका आफ्नो प्रदेशका नागरिकहरुको एकिन तथ्याङ्क निकाली उनीहरुको उद्दार कार्यमा सक्रिय हुनुपर्ने सांसदहरुको धारणा थियो ।

बैठकमा सांसदहरुले जनतालाई शान्ति, स्थायित्व र आर्थिक समृद्धितर्फ लैजान दलगत स्वार्थ त्यागेर प्रदेश सरकारले बहुबर्षीय योजनाहरु ल्याउनुपर्ने बताए ।

प्रदेशसभाका सदस्यहरु क्रमश, नरोत्तम बैद्य, राजेन्द्र गुरुङ, रिना गुरुङ, सृजना शैंजु, रत्नप्रसाद ढकाल, रमेशप्रसाद पौडेल, शोभा शाक्य, प्रदिपकुमार कटुवाल, शेरजंग थापा, जुनेलीमाया श्रेष्ठ, चेतनाथ संजेल, सरस्वती राई र सीता माझीले बैठकमा शुन्य समयमा राष्ट्रिय सरोकारको विषयमा आ–आफ्नो धारणा व्यक्त गरे ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।