मकवानपुरमा वंशजको आधारमा नागरिकता प्राप्त गर्नेको संख्या बढ्यो

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार ११:४३
file-photo

मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा ११ हजार भन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, गत आर्थिक वर्षमा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये ५ हजार ७७ जना पुरुष र ५ हजार ९ सय ३६ जना महिला रहेका छन् ।

जिल्लामा अघिल्लो आर्थिक वर्षको २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा ४ हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ७ हजार ९ सय १८ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । साथै सो कार्यालयले गत आवमा ९ हजार ४ सय जनालाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।