मानव बेचबिखनविरुद्ध सञ्चारकर्मीहरूलाई अभिमुखिकरण

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १७:२७

मकवानपुर । नारी सिप सिर्जना केन्द्र मकवानपुरको आयोजनामा मकवानपुरमा मानव बेचबिखब रोकथाम तथा सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजना अन्तरगत मकवानपुरका सन्चारकर्मीको लागि मानव बेचबिखनविरुद्ध अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले मानव बेचबिखन तथा ओसारपसारसंग सम्बन्धित पछिल्लो कानुनी संशोधन बारे जानकारी गराएका थिए ।

उनले असुरक्षाको कारण धेरै पीडितहरू कानूनी उपचारबाट बन्चित हुने गरेको, गोपनियताको हक हनन हुने गरेको तथा क्षतिपुर्तिको अधिकारबारे जानकारी गराए ।

त्यस्तै नारी सिप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिवि पौडेलले नेपालको कानून प्रभावकारी भएपनि व्यवहारीक बनाउनको लागि आम नागरिकमा कानूनी सचेतना आवश्यक भएको बताए ।

कानुनी व्यवस्था स्पष्ट नभएको कारण नेपालमा मानव बेचबिखन तथा मानवीय अंगको बेचबिखनको क्रम बढेको बताईएको छ ।

कार्यक्रममा कानून व्यवहारिक नभएको कारण आन्तरिक ओसारपसार पनि बढेकोबारे सवाल उठाइएको थियो ।

उनले सबै तहका व्यक्तिहरूमा कानूनी ज्ञानको कमी भएको कारण पनि मावन अंगको तस्करी बढेको भन्दै यसको लागि कानूनी सचेतनाको विकल्प नभएको बताए ।

त्यस्तै केन्द्रकी विनिता अर्यालले मानव बेचविखनपछि उद्दार गर्नुभन्दा बेचविखनलाई रोख्न पहल गर्नुपर्ने बताइन् । केन्द्रले गरिबी निवारण गरी प्रलोभनमा परी बेचिनेको संख्या न्यूनिकरण गर्न गाउँगाउँमा विभिन्न कार्यक्रम पुर्याएको उनले बताइन् ।

ग्रामिण भेगका किसानहरुलाई कृषि पेशाप्रति आकर्षित गराउन किसानहरुलाई बेमौसमी तरकारी खेतीको लागि टनेल, मोरी पालनका लागि घार तथा कृषि उपकरणहरु वितरण गरिएको र बाली भित्र्याउने तालिमसमेत प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रममा मकवानपुरका विभिन्न सञ्चार माध्यममा आवद्द सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।