शिक्षक महासंघ नगर समितिले बुझायो मेयर महतलाई ध्यानाकर्षणपत्र
मकवानपुर । नेपाल शिक्षक महासंघ नगर समिति, हेटौंडाले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
हेटौँडा उपमहानगरपालिका भित्र रहेका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलब समयमा निकासा नगरिएको भन्दै मेयर महतलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।
मकवानपुरका अन्य स्थानीय तहले शिक्षक तथा कर्मचारीहरुको तलब तथा भत्ता मासिक रुपमा नै निकासा गरिसकेको भएपनि उपमहानगरपालिकाले भने यस सन्दर्भमा वेवास्ता गर्दै आएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
समितिले हेटौंडा उपमहानगरको गैरजिम्वेवार कार्यप्रति घोर आपत्ती जनाउँदै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले पाउने तलब भत्ता अविलम्ब निकासा गर्दै आगामी दिनमा सम्पूर्ण शिक्षक तथा कर्मचारीको पारिश्रमिक मासिक रुपमा नै आउने व्यवस्था गर्न उपमहानगरसमक्ष माग गरेको छ ।
नेपाल शिक्षक महासंघका नगर अध्यक्ष दीपक अधिकारी, सह अध्यक्ष हेमलाल घिमिरे, सचिव अमित बन्जरा, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष श्रीराम दहाल, नगर संगठन अध्यक्ष मुकुन्द न्यौपाने नगर सचिव गोपिरमण प्याकुरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष कृष्ण खनाल, नेपाल शिक्षक महासंघ जिल्ला सचिव राजु गौतम लागाएतको उपस्थितिमा ध्यानाकर्षणपत्र बुझाइएको हो ।
