बालबालिकालाई शैक्षिक सामग्री तथा ब्ल्यांकेट वितरण
मकवानपुर । नारी संरक्षण केन्द्रले ५० बालबालिकालाई शैक्षिक सामग्री तथा ब्ल्यांकेट वितरण गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोगी संस्था फ्रेण्डस अफ द उमन प्रोटेक्सन सेन्टर नेपालको आर्थिक सहयोगमा सुरक्षा तथा शिक्षा परियोजना अन्तर्गत बिहीबार हेटौंडा उपहानगरपालिका–४ स्थित संस्थाकै परिसरमा शैक्षिक सामग्री तथा ब्ल्यांकेट हस्तान्तरण गरिएको कार्यक्रम संयोजक राम मिजारले जानकारी दिए ।
उनका अनुसार, सुरक्षा र शिक्षा परियोजनाअन्तर्गत नै शैक्षिक सहयोग प्राप्त गरिरहेका बालबालिकालाई दोस्रो चरणको सहयोग अन्तर्गत ६ महिनाको शूल्क, स्टेशनरी सामग्री र १ लाख १० हजार रुपैयाँको ५० थान ब्ल्यांकेट वितरण गरिएको हो । उक्त संस्थाले प्रत्येक वर्ष ६÷६ महिनामा पदमपोखरी, बसामाडी, चुरियामाई, भिमफेदी, हर्नामाडीका कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका बालबालिकाको शैक्षिक जिम्मेवारी अन्तर्गत शैक्षिक सामग्री वितरण गरिँदै आइरहेको छ ।
हस्तान्तरण कार्यक्रम नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा गुरुङको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि मोक्तानले राज्यको दायित्व बालबालिकाको हकहित, अधिकार संरक्षण गर्नु रहेको बताइन् । गैरसरकारी संघ, संस्थाले बालबालिकाको हकअधिकार संरक्षण तथा शैक्षिक जिम्मेवारी लिँदा राज्यलई टेवा पुगेको उनको भनाई छ । कार्यक्रममा हेटौंडा वडा नम्वर ४ का अध्यक्ष नवीन सिग्देल गायत गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।
