नेकपा एमाले ‘एकता’ कि ‘ए कता’ ?
काठमाडौं । एमाले एकताको विषय टुंगो लगाउन बरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि विहान ११ बजे बस्ने भएको हो ।
बैठकमा एमाले एकताको विषयमा माधव पक्षको रणनीतिलगायतका विषय केन्द्रीय हुने बुझिएको छ ।
बिहीबारको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्ने क्रम आज पनि जारी छ ।
केन्द्रीय कमिटीका सदस्यहरुले धारणा राखेपछि माधव पक्षले एउटा रणनीति तय गर्ने छ । सोही अनुसार पार्टी एकताको विषयमा निचोडमा पुग्ने बताइएको छ ।
लामोसमयदेखिको एमाले विवाद एमालेकै सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि झनै चुलिएको छ । केपी ओली नेतृत्वको सरकार ढलाएर विपक्षीको सरकार बनाएको अपजस नेता नेपालले खेपिरहेका छन् । पटक–पटक संसद् विघटन गरेका ओलीविरुद्ध गठबन्धन नै बनाएर नेता नेपाल सर्वोच्चसम्म पुगेका थिए ।
त्यसपछि एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा नेता नेपाललाई अब पार्टीमा कुनै स्थान नरहेको अभिव्यक्ति दिँदै आएका छन् । माधव नेपालले पनि एमाले सबैको योगदानबाट निर्माण भएको संगठन भएकोले पार्टीमा केपी ओलीको मात्रै पेलान सँधै नटिक्ने दावी गरेका छन् ।
उनले ओलीको पेलामा आफुहरु सँधै नरहने पनि बताएका छन् ।
रोचक विषय त यो छ कि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचित भएको यतिका समयसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको बोटाबाट केही मन्त्री नियुक्त गरेका उनले मन्त्रिपरिषदलाई पूर्णता भने दिएका छैनन् ।
सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी जसपाको विवाद पनि निरुपण भइसकेको छ । निर्वाचन आयोगले जसपा अध्यक्ष उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएसंगै जसपा पनि अब सरकारमा सहभागि हुन तयारी अवस्थामै छ ।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागि गराउन लभिङ गरिरहेका छन् । प्रधानमन्त्री देउवा पनि आफुलाई विश्वासको मत दिएर लगाएको गुन तिर्न तयार रहेको बुझिएको छ । माधव पक्षको इशारा पाउनासाथ देउवाले मन्त्रिपरिषद् विस्तारको आगामी रणनीति तय गर्ने बुझिएको छ ।
एता, माधव नेपाललाई उनी निकट सांसदहरुले सरकारमा सहभागि हुन दबाब दिइरहेका छन् । सांसदहरु सत्ता गठबन्धनमा नेता नेपाललाई सरकारमा सहभगि गराउन मनाउँछौँ भन्दै लभिङ गरिरहेका छन् ।
एकातिर एमाले अध्यक्ष ओलीको पेलान खेपिरहेका नेता नेपाल अर्कोतिर सरकारको विस्तारको साँचोको रुपमा देखिएका छन् । उनले केन्द्रीय कमिटीसंग राय लिएर सरकारमा सहभागि हुने वा नहुने रणनीति तय गर्ने बुझिएको छ ।
उनी सरकारमा सहभागि हुँदा पार्टी एकता झनै जटिल बन्दै जाने एमालेकै सांसदहरु बताउँछन् । ओली नेतृत्वको सरकार ढालेको अपजस खेप्दै आएका नेपाल पक्ष सरकारमा सहभागी हुँदा एमालेभित्र झनै संकट उत्पन्न हुने देखिन्छ ।
आफु निकट सांसदहरुले सरकारमा सहभागि हुन दबाब दिइरहेको र अध्यक्ष ओलीको पेलानमा परिरहेको अवस्थामा उनले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उक्त बैठकलाई चासोका साथ हेरिएको छ ।
