‘केपी ओलीको पार्टीको नाम नेकपा ओली, चुनाव चिन्ह बयलगाढा’
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षमा रहेका नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा आफुहरु त्यसतर्फ अघि बढ्ने बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्नुपूर्व संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता चौधरीले एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको तयारी पनि गर्नुपर्नेसम्मका छलफल गरिने बताए ।
उनले नेकपा एमाले केपी ओलीको पेवा नभई सबैको योगदानबाट बनेको संगठन भएको बताए ।
‘ केपी ओली पार्टी एकताको पक्षमा हुनुहुन्न, एकताको लागि हामी अन्तिमसम्म प्रयास गर्नेछौँ । आजको बैठकमा आवश्यक परे नयाँ पार्टी गठनको बारेमा पनि छलफल गर्नेछौँ । अब एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन ।’ उनले भने ।
उनले केपी ओलीमा अझै पनि दम्भ र अहंकार रहेको र गुटगत भावना रहेकोले नेकपा एमालेले उनलाई सधैँ साथ नदिने र अर्को चुनावमा ओली अर्कै चुनाव चिन्ह लिएर उठ्नुपर्ने अवस्था आउने बताए ।
उनले भने ‘ केपी ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा ९ओली० राख्छन् ।’
उनले आजको बैठकपछि एमाले एकता हुने वा नहुने स्पष्ट हुने पनि बताए ।
बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी विभाजनको संघारमा पुगेका बेलाको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।
केही बेर अघि बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गरेको भएपनि निर्णय भने सार्वजनिक गरिएको छैन् ।
पार्टी अध्यक्ष केपी ओली समूहले भने नेपाल समूहको बैठकलाई अनधिकृत बताउँदै त्यसमा सहभागी नहुन अनुरोध गरेको छ।
